जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुस्ताङमा आजदेखि निशेधाज्ञा, मुक्तिनाथ मन्दिर थप १५ दिन बन्द

मुस्ताङमा बिहिबार रातीदेखि लागुहुनेगरी निशेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारीसमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेको हो ।
जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि बिहिबार राति देखि एक साता मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र लागु हुने गरी निशेषआज्ञा जारी गरिएको हो ।
मुस्ताङमा समेत कोरोना माहामारीको भयावह अवस्था भएकाले यसको रोकथाम तथा न्यूनिकरण गर्ने उद्देश्यले निशेषआज्ञा जारी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए । उनका अनुसार निशेषआज्ञा अवधिभर संक्रमण जोखिम रहेको तीन स्थानीय तहमा अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प हुने छन् ।
मुस्ताङ भित्रिने जोकोही व्यक्तिले अनिवार्य क्वारेन्टाईन बस्ने प्रतिबद्धता र सुनिश्चिता भएको अवस्था मात्र मुस्ताङ प्रवेशको अनुमती दिने प्रशासनले जनाएको छ ।

यस्तै, कोरोनाको दोश्रो लहरसंगै गत बैशाख ११ गतेदेखि बन्द रहेको मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर थप पन्ध्र दिनका लागि बन्द गर्ने निर्णय भएको छ । मुक्तिनाथ मन्दिर जेठ १५ गतेसम्म लागि बन्द गर्ने सीसीएमसीले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
यसअघि स्थानीय प्रशासनले कोभिड रोकथाम तथा नियन्त्रणमा कुनै पहल नगरेको भन्दै नागरिक स्तरबाट चर्को आलोचना भएको थियो । मुस्ताङमा बुधबारसम्ममा सक्रिय कोरोना संक्रमितको सख्या ७६ नाघेको जनाईएको छ ।
मुस्ताङको थासाङमा १६ जना, घरपझोङमा ४५ जना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १७ जना व्यक्तिमा कारोना संक्रमण पुष्टि भईसकेको छ । जोमसोममा भने ४ जना मात्र कोभिडका बिरामी आईसोलेसनमा छन् । रासस