जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

महाकाली नदीमा एकतर्फी तटबन्ध निर्माण रोक्न भारतलाई नेपालले पठायो कूटनीतिक नोट

मंगलबार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत तटबन्ध निर्माण तत्काल रोक्न भारतलाई कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

सरकारले महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी निर्माण भइरहेको तटबन्ध र त्यसलाई लिएर दार्चुलामा रहेका नेपाली नागरिकमाथि भारतीय पक्षले गरेको ज्यादती रोक्न पनि भारतलाई आग्रह गरेको छ ।

नेपालले पठाएको कूटनीतिक नोटमा नेपालको सहमतिबिना बनाइएको संरचना र यसले नेपालतर्फ पुगेको क्षति उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने उल्ल्खे छ । भारतले सीमानदी महाकाली नदी किनारमा एकतर्फी रूपमा एक वर्षयता तटबन्ध निर्माण गरिरहेको छ । भारतको तटबन्ध निर्माणको कामलाई नरोकेपछि दार्चुलाका स्थानीयबासीले विरोध जनाउँदै आएका छन् ।

भारतले महाकाली नदी किनारमा तटबन्ध बनाउने क्रममा नदीको बीचमा बनाएको संरचना नहटाउँदा नदीको धार नेपालतिर फर्किएको छ । महाकालीको धार नेपालतिर फर्किँदा दार्चुला सदरमुकाम नै जोखिममा पर्ने स्थिति आएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।