जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेलायतले २० लाख डोज एस्ट्राजेनेका खोप नेपाल पठाउने

बेलायतले नेपाललाई अहिले खोप आवश्यक रहेको भन्दै २० लाख डोज एस्ट्राजेनेका खोप पठाउने भएको छ ।

कोरोना भाइरस संक्रमणको नयाँ लहर तिब्र रुपमा फैलिरहँदा बेलायतले विश्व स्वास्थ्य संगठनले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको प्रतिक्रिया दिएको एक सातापछि खोप पठाउने भएको छ। विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खोप (कोभिसिल्ड) उपलब्ध गराउन लागेको हो।

भारतको खोप उत्पादक कम्पनी सिरमबाट खोप आउन ढिलाइ भइरहँदा बेलायत सरकारबाट यस्तो सहयोग आउन लागेको हो । सिरम कम्पनीले कोभिसिल्ड पठाउन नसक्दा पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज लगाउन पाएका छैनन् । बेलायतको सहयोगका लागि बेलायतमा रहेका गोर्खाज् र काठमाडौँस्थित बेलायती राजदूत निकोल पोलिटको पहल महत्वपूर्ण मानिएको छ । पोलिटले दुई दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी खोप उपलब्ध गराउने बारे छलफल गरेकी थिइन् । सोही विषयमा बेलायती संसद्को उपल्लो सदन हाउस अफ लर्ड्समा बिहीबार बहस समेत भएको थियो ।

यसअघि नेपालले डब्लूएचओको कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा केही अंश बेलायतको सहयोग थियो ।