जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बतास फाउन्डेसनद्वारा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

जन्मभुमि खबर ,
पोखरा ।

बतास अर्गनाईजेसन अन्तर्गतको गैर नाफामूलक परोपकारी संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा गण्डकी प्रदेशकै सवैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) लाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा हस्तान्तरण गरिएएको उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात उक्त प्लान्ट जडान गरिने बतास फाण्डेसनले जनाएको छ ।

अक्सिजन अभावका कारण कोभिड महामारीमा सङ्क्रमितले उपचार पाउन नसकेपछि बतास फाउन्डेसनले गत वर्षको सुरुवाती महिनामा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट स्थापनाका लागि रकम सङ्कलन महाअभियान सुरु गरेको थियो । बतास फाउन्डेसन र बतास अर्गनाइजेसनबाट गरी कुल रु. ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर ‘रु. १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ चलाइएको अभियान अन्तर्गत कर्पोरेट हाउसहरू र पोखरेली जनसमुदायको सहभागिता मार्फत तीन करोड ४५ लाख १७ हजार ५५५ रुपैयाँ सङ्कलन भएको थियो ।

बतासले निर्धारित समय भन्दा निकै ढिलो मात्र प्लान्ट हस्तान्तरण गर्न सकेको हो । फाउण्डेशनका प्रवक्ता नारायण प्रसाद पौडेलले विसं २०७८ जेठ६ गनेनै फ्रान्समा प्लान्ट खरिद गरेपनि सरकार कार्गो कम्पनी र आयातकर्ताबिचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भएको बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा थप विलम्ब भएको हो । सो प्लान्ट एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि सो सम्भव नभएपछि जल तथा स्थल मार्गमार्फत ढुवानी गरी हस्तान्तरण गरिएको र सम्पूर्ण आयव्यय विवरण निकट भविष्यमा नै सार्वजनिक गर्ने गरिने बतासले जनाएको छ ।

बतास फाण्डेसनले सुरु गरेको यस अभियानका लागि सहयोग रकम जुटाउने तथा प्लान्ट स्थापना सम्बन्धी कार्य अघि बढाउने लक्ष्यसहित गठित तदर्थ समितिको संरक्षकमा पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसी रहनु भएको थियो।

त्यस्तै, संयोजकमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, कोषाध्यक्षमा अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल तथा सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्व पालिखे, एभरेष्ट एफएमका प्रबन्ध सञ्चालक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गाना तथा सेलवेज डिपार्टमेन्टल प्रालिका अध्यक्ष सुशील मान प्रधानाङ्ग रहनुभएको छ । फाउण्डेसनले अक्सिजन प्लान्ट राख्ने कार्यमा सहयोग गर्नेहरुप्रति आभार समेत व्यक्त गरेको छ ।