जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रेमीलाई सुपारी दिएर सिन्धुपाल्चोकबाट कास्कीको सिक्लेस ल्याएर आफ्नै श्रीमानको हत्या

जन्मभुमि खबर ,
पोखरा ।

आफ्नै श्रीमानको हत्या गर्न श्रीमतीले प्रेमीलाई सुपारी दिएर सिन्धुपाल्चोकबाट कास्कीको सिक्लेस ल्याएर सिन्धुपाल्चोकका रामलाल तामाङको हत्या भएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसमा चैत ३ गते भेटिएको शव हत्या गरेर फालिएको प्रहरीले निश्कर्ष निकालेको छ ।

मादीमा निर्माणाधीन २ वटा हाइड्रोपावरमध्ये एउटामा काम गर्न भनेर गाउँबाट फकाएर सँगै ल्याएर सिक्लेसमा रामलाल तामाङको हत्या गरेर ३ जना फरार भएका थिए । आफ्नै श्रीमतीले रामलालको हत्या गर्ने सुपारी दिएर पठाएको र सिक्लेसमा ल्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले हत्याको आरोपमा श्रीमती र उनीसँगै हाइड्रोमा काम गर्न भनेर गएका ३ जना काठमाडौं र भक्तपुरबाट पक्राउ गरी पोखरा ल्याएको छ ।

सिक्लेस गाउँबाट दक्षिण पाखोमा भेटिएको शव सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बाका रामलाल तामाङकोे १ गते हत्या भएको ३ गते शव फेला परेको थियो ।

४ जनालाई पक्राउ गरी थालिएको प्रारम्भिक अनुसन्धानले श्रीमती अर्कैसँग सम्बन्धमा रहेको र उनैले हत्याको योजना बनाएको देखिएको छ । प्रहरी श्रोतका अनुसार पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको छ पक्राउ पर्नेमा श्रीमती च्याङ्मा तामाङ, धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ रहेका छन् ।

पोस्टमार्टनपछि रामलालका बुबाले शव बुझेका छन् । मादीमा २ वटा निर्माणाधीन हाइड्रो जाने बाटोभन्दा तल स्थानीयले शव देखेपछि वडाध्यक्ष देवीजंग गुरुङलाई खबर गरेका थिए । वडाध्यक्ष गुरुङले लास नै हो भन्ने पक्का भएपछि प्रहरीलाई खबर गरेका थिए ।