जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल सातौं पटक मन्त्रिपरिषद् विस्तार गरे पनि पूर्णता भने पाउन सकेन

प्रचण्ड सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । शुक्रबार दिउँसो राष्ट्रपति निवास बालुवाटारमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएका हुन् ।

पहिलो चरणअन्तर्गत कांग्रेसबाट ४ जनाले मन्त्रीको सपथ लिएका छन् । कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङले सहरी विकास मन्त्री बनेका छन् ।

नेकपा माओवादी केन्द्रबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

जनता समाजवादी पार्टीबाट पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छन् भने नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल सातौं पटक मन्त्रिपरिषद् विस्तार गरे पनि पूर्णता भने पाउन सकेन । अझैँ कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रिक्त छन् ।

त्यसो त आज (शुक्रबार) नै डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । मन्त्रिमण्डल पुनर्गठनका क्रममा सहमतिअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नदिइएपछि उनले मन्त्रीबाट राजीनामा दिएका छन् ।