जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए विश्वासको मत, पक्षमा खस्यो २६८ मत विपक्षमा २ मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट मंगलबार विश्वासमो मत प्राप्त गर्नुभएको छ ।
प्रधमामन्त्री दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको थियो ।

दाहाललाई नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी,नेकपा एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी,जनमत र नागरिक उन्मुक्ती पार्टीका सांसदले मत दिएका थिए । राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने दाहालको विपक्षमा मत दिएका थिए । नेपाल राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सांसद हुनुहन्छ ।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टि हुँदा हुँदै पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले विश्वासको मत दिन नहुने भन्दै फरक मत राखेका थिए । उनीहरुले प्रतिनिधि सभाको बैठक बस्नु हुनु अघि मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पार्टी प्रतिपक्षकै भूमिकामा हुनु पर्ने बताएका थिए । तर बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । त्यसप्रति महामन्त्रीद्वय र कांग्रेसका नेताहरुले असन्तुष्टि जनाएका हुन् । कार्य सम्पादन समितपछि बसेको कांग्रेस संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

दाहाल १० पुसमा १६९ सांसदको समर्थन सहित प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यसबेला दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदले समर्थन गरेका थिए । दाहाल ७ दलीय गठबन्धनको प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको थियो । प्रतिनिधि सभामा कसैको बहुमत नभएकाले दाहालको नेतृत्वमा गठबन्धन सरकार बनेको हो । गठबन्धन सरकारले १ महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ ।

दाहाललाई विश्वासको मतका लागि माघ १० सम्मको समय भएपनि उहाँले आजै प्रतिनिधिसभाबाट विश्वासको मत लिनु भएको हो । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरेर सांसदहरुको संख्या २७५ रहेको छ । सरकार बनाउनका लागि १३९ सांसदको समर्थन चाहिन्छ ।