जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा १८ मेथ्लाङ नजिक रेडीमिक्स्चर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

जन्मभुमि खबर,
पोखरा ।

पोखरा महानगरपालिका १८ मेथ्लाङ नजिक गण्डकी निर्माण समन्वय प्रालिको (आरएमसी) रेडीमिक्सचर अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।

सराङकोट देखि पोखरा झर्दै गरेको ग १ ख ३१८७ नम्बरको रेडीमिक्सचर मेथ्लाङ तल आज (मंगलबार) विहान १० बजे दुर्घटना हुदाँ सहचालक पोखरा १४ चाउथेका २९ वर्षीय अनिरोध थापाको ज्यान गएको हो ।

दुर्घटनामा परेको सहचालक थापालाई मिक्सचरले च्यापेको बताउदैँ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा ११ः२५ बजे डाक्टरले मृत्यु घोषणा गरेको थियो ।

सहचालक थापाको उद्धारका लागि क्रेन र जेसीबीको सहायता लिनपर्ने गरी मिक्सचरले च्यापेको थियो ।

डिएसपी हमालका अनुसार सो घटनामा परि काठमाडौंँ कोटेश्वरका ३५ वर्षीय चालक राजन ठकुरी घाईते भएका छन् । टाउकोमा चोट लागेका घाईते ठकुरीको फिस्टेल अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।