जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा पर्यटकीय राजधानी घोषणा,आजदेखि केही निश्चित व्यवसाय मापदण्ड पुरा गरेर २४ सै घण्टा खुला गर्न पाइने

जन्मभुमि खबर ,
पोखरा ।

केन्द्र सरकारलाई पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज फेवाताल किनारमा आयोजित कार्यक्रममार्फत पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गर्दै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् । पर्यटकीय राजधानी घोषणापछि पोखरा संघ सरकारको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता पर्ने, विदेशी र स्वदेशी लगानी आउने, पर्यटक आवागमन बढ्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दाबी गरे ।

आइतबारदेखि पोखरा २४सैँ घण्टा खुल्ने मेयर आचार्यले बताए । यसका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको सुरक्षा संयन्त्रको बैठकले ४३ मापदण्ड बनाएको र त्यसैअनुसार अब २४सैँ घण्टा खुल्ने उनले बताए ।

केही निश्चित व्यवसाय मापदण्ड पूरा गरेर २४ सै घण्टा खुला गर्न पाइने कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

गैराको चौतारादेखि चिप्लेढुङ्गा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक, विरौटा, राष्ट्र बैंक चोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लन चोकसम्म २४ सै घण्टा खुला राख्ने निर्णय भएको छ । यसबाट आर्थिक क्रियाकलाप बढ्नुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

गत कात्तिकमा उच्च अदालतले लेकसाइडलाई २४ घण्टा नै खोल्न अन्तरिम आदेश दिएको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेको थिएन । मेयर आचार्यले लेकसाइडमात्र नभई मुख्य सबै चोक खुला राखिने जानकारी दिए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिदिन आग्रह गर्दै २०७५ सालयता गण्डकी प्रदेश सरकारले दुईपटक र पोखरा महानगरपालिकाले एकपटक संघ सरकारलाई आग्रह गरेका थिए । तर, मागअनुसार नभएपछि प्रदेश सरकार र महानगरपालिकाले भव्य कार्यक्रम गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् ।