जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा फागुन २४ गतेदेखि बगर भाइखलक एट ए साईड फुटबल प्रतियोगिता

जन्मभुमि खबर
पोखरा, १९ फागुन/ पोखराको टुडिखेलमा फागुन २४ गतेदेखि बगर भाइखलक एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

बढ्दो उमेरसँगै स्वास्थ्यप्रतिको सचेतनासँगै युवापुस्तालाई फुटबलप्रति अभिप्रेरित गराउने अभिप्रायले बगर भाइखलबले वर्षेनी एट ए साईड फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

चौथौ रन्जित गुरुङ स्मृति १० औं सस्करणको बगर भाइखलक एट ए साईडमा पोखरा तथा अन्य विभिन्न शहरका गरी २८ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।

पोखरा–१ पुरानो टुडिखेलको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतियोगितामा भुतपुर्व खेलाडी मन्च नेपालका महासचिव एवं खेलकर्मी खेम गुरुङलाई दोसल्ला सहित ताम्रपत्रबाट सम्मानित गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा बगर भाइखलकका महासचिव यामबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामै सबैभन्दा पाका खेलाडीलाई ताम्रपत्रबाट सम्मानित गरिने उनले बताए ।

विधागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्डलई ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

सर्वोत्कृष्ट खेलाडीलाई भने नगद १० हजार सहित ट्र्फी प्रदान गरिने बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

म्यान अफ दि म्याच एवं अनुशासित टोलीको हकमा भने विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको २९ गते सकिने छ ।