जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्षसमेत रहेका स्वर्गीय पत्रकार पौडेलको स्मृतिमा अक्षयकोष खडा गर्ने निर्णय गरेको हो ।

१० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । प्रदेश कमिटीले ५ लाख रूपैयाँ तत्काल कोषमा जम्मा गर्ने र बाँकी ५ लाख रूपैयाँ प्रदेशअन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकसँग समन्वय गरेर जुटाउने जनाएको छ ।

अक्षय कोषबाट कार्यविधि बनाएर हरेक वर्ष गण्डकी प्रदेशभरका पत्रकारमध्येबाट एकजनालाई पुरस्कृत गर्ने बताइएको छ ।

पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष रहेका ३७ वर्षे पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकार, त्यसअघि महासंघ कास्कीको उपाध्यक्ष एवं २ कार्यकाल सचिव भइसकेका थिए । यस्तै उनी माओवादीनिकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत थिए ।

राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट दुई दशकभन्दा अघिदेखि पत्रकारिता सुरू गरेका पौडेलले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा आवद्ध भई काम गर्दै पछिल्लो समय पोखरा हटलाइन दैनिकको प्रकाशक एवम् सम्पादक थिए ।