जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल प्रहरीको आईजीपीमा वसन्त कुँवर नियुक्त 

नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा वसन्त बहादुर कुँवर नियुक्त भएका छन् ।

शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय गरेको हो । योसँगै कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी भएका छन् । एआईजीको वरीयतामा कुँवर नै पहिलो नम्बरमा थिए ।

आईजीपी कुँवर ८ चैतमा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । एआईजीको फूली लगाएको तीन दिनमै कुँवर आईजीपीमा बढुवा भएका हुन् । प्रहरी महानिरीक्षकका लागि कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि दौडमा थिए ।

आईजीपी धीरजप्रताप सिंह प्रहरी नियमावली, २०७१ मा रहेको ३० वर्षे सेवा अवधिका कारण आजैदेखि अवकाशमा जाँदैछन् ।  आईजीपी कुँवरले ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । भदौ २०६३ मा डीएसपीमा बढुवा भएका कुँवर फागुन २०७१ मा एसपी, फागुन २०७५ मा एसएसपी र ८ असार २०७९ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।

यस्तो छ आईजीपी कुँवरको ट्र्याक रेकर्ड

९ महिना डीआईजीको अनुभव गरेका कुँवरसँग मधेस प्रदेश प्रहरी प्रमुख र प्रहरीको प्रधान कार्यालयको कार्य विभागको कमाण्ड सम्हालेको अनुभव छ ।

एसएसपी हुँदा कुँवरले प्रहरीको केन्द्रीय प्रवक्ताको भूमिका र प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्डसमेत सम्हालेका छन् । त्यस्तै, एसपीमा नुवाकोट र चितवन जिल्ला प्रमुखका रूपमा काम गरेका थिए ।

डीएसपी हुँदा मनाङ, गोरखा र धादिङ जिल्लाको कमण्ड सम्हालेको अनुभव उनीसँग छ ।