जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाललाई कोभ्याक्स कोरोनाविरुद्धको खोप उपलव्ध गराउने अमेरिकी घोषणा

अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रमअन्तर्गत कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले ‘विश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई वितरण गर्ने उल्लेख गरेको छ । जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् ।

कोभ्याक्समार्फत वितरण हुने खोपमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको छ ।

एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई दिइने घोषणा गरिएको छ ।

कुन क्षेत्र र कुन देशले कति परिमाणमा खोप पाउने भन्ने बाइडेन प्रशासनले गृहकार्य गरेर यकिन गर्ने ह्वाइटहाउसले जनाएको छ । कोभ्याक्स कार्यक्रममार्फत नेपालले २० प्रतिशत जनसंख्यालाई खोप पाउने अपेक्षा छ । हालसम्म २ लाख ८४ हजारभन्दा बढी डोज खोप आइसकेको छ ।

कोभ्याक्समार्फत वितरण गरेर बाँकी ६० लाख डोज खोप क्यानडा, मेक्सिको, भारत तथा दक्षिण कोरियका साथै कोरोना महामारीसँग जुधिरहेका देशहरुलाई दिइने राष्ट्रपति बाइडेनले बताए । अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी निर्णयको स्वागत गर्नु भएको छ । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।