जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा वार्षिक २७ हजारको सुर्तिजन्य पदार्थ सेवनबाट मृत्यु

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस नेपालमा पनि विभिन्न भर्चुअल कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मे ३१ गतेका दिन सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने गरिन्छ ।

दिवसको यस वर्षको नारा ‘सुर्तिजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस् कुलत त्याग्नेहरु नै वास्तविक विजेता हुन्’ भन्ने रहेको छ । विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तिजन्य पदार्थको सेवनका कारण जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा भने वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण ज्यान गुमाइरहेका छन् ।

विश्वभर ७८ करोडभन्दा बढी मानिसले सुर्तिजन्य पदार्थ प्रयोगलाई त्याग्न खोजिरहेको तर ती मध्ये एक तिहाइभन्र्दा कमले मात्रै त्याग्नका लागि सही परामर्श वा वातावरण पाएको संगठनको तथ्यांक छ । नेपालमा सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ जारी गरिएको छ । ऐनअनुसार सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिजन्य पदार्थ सेवन गरेमा एकसय रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुबै सजाय हुनसक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने यदि गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ ।

१८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तिजन्य पदार्थ विक्रीवितरण गर्न गराउन वा निःशुल्क उपलव्ध गराउन नपाइने, यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने सुर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइने लगायत ८ वटा प्रावधान राखिएको छ । रासस