जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिन म्याद थप गरेर अनुसन्धान गरिने भएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतबाट १२ जनालाई नै थप ४ दिनका लागि हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो।

यस प्रकरणका एमाले सचिव तथा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने अझै फरार छन्। उनका छोरा सन्दीपललाई भने प्रहरीको हिरासतमै राखिएको छ।

खाँण गत वैशाख २७ गते मनमैजुमा रहेको डेराबाट समातिएका थिए।

आजै मात्र यस प्रकरणमा मुछिएका गिरोहका दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासमेत यो गिरोहमा संलग्न रहेको भन्दै उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएको हो।

सुरुमा ३ दिनका लागि पाएको म्याद शुक्रबार सकिएको थियो। शनिबार बिदा भएका कारण आज (आइतबार) म्याद थपका लागि खाँण अदालत लगिएको हो।