जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

जन्मभुमि खबर
काठमाडौँ, २९ फागुन । आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पु¥याउने गरी आवश्यक काम भइरहेको जानकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दिएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यपुस्तकको अभाव हुन नदिइने प्रतिबद्धता जनाउनुभयो । यसका लागि कुनै समस्या नरहेको उहाँले बताउनुभयो । त्यसका लागि चैत र वैशाख महिनाभित्र पाठ्यपुस्तकको छपाइ पूरा गर्ने केन्द्रको योजना छ ।

कक्षा ६ बाहेक अब झन्डै १० लाख थान पुस्तक छपाइ गर्न बाँकी रहेको जनाइएको छ । गत वर्ष एक करोड ६३ लाख थान पाठ्यपुस्तक छपाइ कार्य केन्द्रले पूरा गरिएको थियो । यस पटक पनि त्यसलाई नै आधार मानेर पुस्तक प्रकाशन गरिने जनाइएको छ ।

जेठ महिनामा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेपछि असार १ गतेबाट सुरु हुने शैक्षिक सत्रलाई सहज तरिकाले अगाडि बढाउन सकिने उहाँको भनाइ छ । रासस