जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चिनियाँ खोप बिहीबारसम्म सबै प्रदेशमा पठाइने

अनुदानमा प्राप्त चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाउने तयारी सरकारले गरेको छ । मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले सातै प्रदेशका ६० देखि ६४ वर्ष उमेर समूहको जनसंख्याका आधारमा खोप वितरण गर्न लागिएको जानकारी दिए ।

सातै प्रदेशमा गरी यो उमेर समूहका करिब ८ लाख ५५ हजार जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अहिलेको लटमा आएको खोपले सबैलाई पु¥याउन सम्भव नभएकाले प्रदेशस्थित स्वास्थ्य निर्देशनालयलाई दोस्रो डोजको सुनिश्चितता गरेर पुगेजतिलाई खोप लगाउन सक्नेगरी खोप पठाउन लागिएको डा. गौतमले जानकारी दिए ।

यसअघि चिनियाँ अनुदानको खोप चीनसँग सिमाना जोडिएका र बढी कारोबार हुने जिल्लावासीलाई प्राथमिकता दिएर लगाइएको थियो ।

यसपटक भने सबै प्रदेशमा वितरण गर्न लागिएको हो ।

डा. गौतमका अनुसार केन्द्रबाट प्रदेश आपूर्ति केन्द्रमा पठाइने छ र केन्द्रले प्रदेश स्वास्थ्य निर्देशनालयसँग मिलेर खोप अभियान सञ्चालन गर्नेछ । कुन प्रदेशमा कति डोज खोप जान्छ भन्ने यकिन नगरिसकिएको भन्दै डा. गौतमले प्रदेशको जनसंख्यालाई आधार मानेर प्रदेशमा पठाउने खोप संख्या तय गर्न लागिएको हो ।

बुधबार कुन प्रदेशलाई कति खोप खोप पठाउने भन्ने यकिन गरेपछि बिहीबार साँझ वा शुक्रबार बिहानै सबै प्रदेशमा खोप पठाउने तयारी केन्द्र सरकारको छ ।

स्वास्थ्यको तथ्यांक अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका प्रदेश १ मा एक लाख ४० हजार, प्रदेश २ मा १ लाख ७८ हजार, वाग्मती प्रदेशमा १ लाख ८३ हजार, गण्डकीमा ७१ हजार, लुम्बिनीमा १ लाख ४५ हजार र कर्णाली प्रदेशमा ५२ हजार र सुदूरपश्चिम प्रदेशमा ८४ हजार जना छन् ।