जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी सरकारबाट बाहिरीयाे माओवादी, दुई मन्त्रीले दिए राजीनामा 

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा माओवादी केन्द्रबाट सरकारमा संलग्न दुई जना मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका छन् ।

माओवादी दल नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार राजीनामा दिएका हुन् ।

शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बहिरिने निर्णय गरेको थियो । २५ पुसमा एमाले नेता अधिकारी नेतृत्वमा बनेको सरकारमा माओवादी संलग्न भएको थियो ।

समर्थन फिर्ता लिएको औपचारिक जानकारी माओवादीले आजै संसदलाई दिने तयारी छ । माओवादी सरकारबाट बहिरिएर समर्थन फिर्ता लिएको औपचारिक जानकारी संसद सचिवालयलाई गराएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्छ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८ (३) अनुसार कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डे ठूलो दलको नेताको हैसियतले स्वतः मुख्यमन्त्री बन्ने छन् । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक), राप्रपाका २ र एक जना एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र निर्वाचित सांसद छन् ।