जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् ।

त्यही अनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

७१ वर्षे पोखरेल प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट विजयी भएका हुन् । उनले एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरेका हुन् । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् । उनको पुख्र्यौली थलो भने तनहुँ हो ।