जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीको नीति तथा कार्यक्रम हेर्नुहोस् पुर्णपाठ

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभा सदनमा प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेशसभाको सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने सरकारले उद्घोष गरेको छ ।

यस्तै खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने साथै यसबाट लाग्ने विद्युत् महसुलमा अनुदान दिने प्रदेश प्रमुखले बताए । १० वर्ष मुनिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रादेशिक अस्पतालमा ओपिडी र प्रयोगशाला परीक्षण निःशुल्क गराउने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

शिक्षासम्बन्धी प्रदेश कानुन तर्जुमा गरी अनुसन्धानमा आधारित गण्डकी प्रदेशस्तरीय मापदण्ड तय गरिने पनि गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम अन्तर्गत उत्कृष्ट सामुदायिक क्याम्पसलाई क्षमता र कार्यसम्पादनका आधारमा अनुदान उपलब्ध गराइने पनि प्रदेश सरकारले घोषणा गरेको छ ।

त्यसै गरी सङ्ग्रहालय नीति निर्माण गरी पोखरास्थित प्रदेश सङ्ग्रहालयलाई गण्डकी प्रदेश एकीकृत कला संस्कृति सङ्ग्रहालयका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गण्डकी प्रदेशलाई खेलकुद पर्यटनको केन्द्रको रूपमा विकास गर्न सुविधा सम्पन्न क्रिकेट रङ्गशालाको निर्माण गरिने पनि जनाइएको छ ।

कृषितर्फ एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्मको अवधारणा अघि सारिएको छ ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिने पनि नीति तथा कार्यक्रममा सरकारले उल्लेख गरेको छ । गण्डकी प्रदेशलाई नेपालको प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गर्न पर्यटन गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिने कुरालाई पनि कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार अन्तर प्रदेश समन्वयमा लुम्बिनी मुक्तिनाथ, कैलाश पर्वत जोड्ने मुक्ति मार्ग निर्माण कार्य प्रारम्भ गर्न विस्तृत सम्भाव्यता अध्ययन गरिनेछ । यस वर्षको नीति तथा कार्यक्रममा विगतका सरकारले ल्याएका प्रदेश गौरवका योजना कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै प्रदेश सुरक्षा नीति तर्जुमा गरी शान्ति सुरक्षा एवं सुव्यवस्था कायम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हेर्नुहोस् पुर्णपाठ  आर्थिक-वर्ष-२०८०८१-को-नीति-तथा-कार्यक्रम