जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याइँदै

कोरोना भाइरस संक्रमणविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ।

सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ। यसअघि गाभीले खोप पठाउने भनेतापनि कुन मितिमा भन्ने यकिन भएको थिएन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताए।

उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन।

उनले तीन पटकमा १५ लाख मात्रा खोप आउने जानकारी दिए। छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’सँग ३० लाख मात्रा खोप माग गरेको हो।

पहिलो चरणमा १५ लाख मात्रा खोप आउने दाहालले बताए। गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो।

छिमेकी मुलुक भारत र चीनमा बीएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेपनि अहिले संक्रमण घटेको छ।

अहिले संक्रमण पनि कम हुँदै गएको छ। मन्त्रालयका अनुसार मंगलबार देशभरिमा एकजना संक्रमित र तीनजना सक्रिय संक्रमित भेटिएका छन्।