जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाको बढ्दो ग्राफ:पछिल्लो २४ घण्टामा ४९६ जनामा काेराेना सङ्क्रमण, १३ जनाकाे ज्यान मृत्यु

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । ४३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै सात सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । योसँगै काेराेनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ मा पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा एक सय ३८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ६५ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ सय ६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।