जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा सुरु भयो निषेधाज्ञा,आज विजोर नम्बर भएका सबै सवारी चल्ने, अत्यावश्यकबाहेक पसल नखुल्ने

कास्कीमा आज बिहान ६ बजेबाट निषेधाज्ञा शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज बिहान ६ बजेबाट वैशाख २१ गते राति २१ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
जसले गर्दा अन्य दिनको तुलनामा निकै कम मात्रामा सवारी साधन गुडेका छन् भने मानिसको चहलपहल पनि घटेको छ ।

उक्त अवधिभर जिल्ला भित्र संचालन हुने अत्यावश्यक सवारी साधनबाहेक यात्रु बाहक सार्वजनिक तथा निजि सवारी साधनहरुमा सो अवधिभर जोरबिजोर प्रणाली लागू भएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासनले औषधि एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घन्टा खुला रहने जारी सूचनामा जनाइएको छ ।

यस्तै, उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरु बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

होटेल तथा रेस्टुरेन्टमा टेकअवे सेवा मात्र अर्थात होम डेलिभरि एवं होटलमा बसेर खान नपाइने, लिन आउने ग्राहकलाई दिने गरि सञ्चालन हुने गरी बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।

यस्तै, १५ जना भन्दा बढी भेला भएर जन्ती, मलामी जान नपाइने, मनोरञ्जन तथा खेलहरु, पार्टी प्यालेस सबै बन्द हुने आदेशमा उल्लेख छ । विवाह बढीमा १५ जना सहभागी गराएर घरमै गरिनेलाई मात्र स्वीकृति दिइने प्रशासनले जनाएको छ ।

यसैगरी बैंकहरु नेपाल राष्ट्रबैंकको समन्वयमा शाखा प्रवन्धकले न्यूतनतम् कर्मचारी राखेर सञ्चालन गर्ने, विद्यालय, शैक्षिक संस्था र परीक्षाहरु यस अवधिभर सबै स्थगित गरिने भएको छ ।

प्रशासनको आदेश अवज्ञा भएको पाइएमा स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२० एवं प्रचलित कानून बमोजिम कार्वाही गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रशासनको निर्देशनमा मंगलबार साँझदेखि नै प्रहरी परिचालन, महानगरपालिकाले माइकिङ गरेर आजदेखि निषेधाज्ञा जारी गरिएको जनाएको छ । प्रहरीले मंगलबार साँझदेखि नै खटिएर अत्यावश्यक बाहेकका पसल भोलिदेखि बन्द गर्न निर्देशन दिइसकिएको छ ।

६३५ जना सुरक्षाकर्मी परिचालन

प्रशासनद्धारा निर्देशन जारी भएपछि निषेधाज्ञा सफल बनाउन कास्की प्रहरीले ६३५ जना सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरीलाई केही स्थानमा सशस्त्र प्रहरीले पनि साथ दिने बताइन्छ ।
कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले कास्की जिल्लाभर ६३५ जना सुरक्षाकर्मी परिचालन गरिएको र निषेधाज्ञा कडाइका साथ लागू गरिने जानकारी दिए ।

उनले खाद्यान्न, दूध, फलफूल तथा तरकारी, मासु, औषधि पसलबाहेक अन्य कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाउने स्पष्ट पारे । उनले निजि तथा सार्वजनिक सवारीहरु जोर विजोर प्रणाली अन्तर्गत सञ्चालन गर्न दिइने बताए । निषेधाज्ञामा निजि सवारी सञ्चालन नहुने हो कि भन्ने चिन्ता भए पनि निजि सवारी पनि जोर विजोर प्रणालीमा सञ्चालन हुने भएको छ ।