जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा मृत्यु संख्या उच्च,आजमात्रै १२ जना सहित गण्डकीमा थप ३० जनाको मृत्यु पुष्टि,कास्कीका २०९ जना सहित गण्डकीमा ८०८ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।
शुक्रबार कास्कीका २०९ सहित गण्डकीमा थप ८०८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धित दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४९० जनामा गरिएको नमुना परीक्षणमा ८०८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २०९ जना, तनहुँका ५४  जना, गोरखाका ७७ जना, लमजुङका चार जना, नवलपुरका १३४ जना र स्याङ्गजाका ५१ जना छन् ।

यस्तै, पर्वतका १३३ जना, बाग्लुङका १३२ जना, म्याग्दीका १२ जना, मुस्ताङका एक जना र मनाङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४० हजार ४९५ पुगेको छ । जसमा ११ हजार २७५ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट  ७७० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २८ हजार ५९६ पुगेको छ।

बिहीबार गण्डकीमा आजसम्मकै सर्वाधिक ३० जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका १२ जना, तनहुँका छ जना, गोरखाका तीन जना, नवलपुरका एक जना, स्याङ्गजाका तीन जना, पर्वतका दुई जना, बागलुङका एक जना, म्याग्दीका एक जना र मुस्ताङका दुई जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६२४ पुगेको निर्देशनालयले जनाएको छ ।