जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा ठुलो असर, एक्स्काभेटर र उद्योग सामाग्री सहित १५ करोडको क्षति

जन्मभुमि खबर,
पोखरा ।

भारी वर्षाका कारण आएको बाढीका कारण कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा ठुलो क्षति पुगेको छ ।

गए रातिदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले हाइड्रोपावरमा रहेका मेसिनरी, यन्त्र उपकरण, क्रसर उद्योग सेट, रड आदि गरी करिब १५ करोड बराबरका सामग्री बगाएको हाइड्रोका सञ्चालक धनराज आचार्यले बताउनुभयो ।

निर्माण स्थलमा रहेका एक्स्काभेटर,लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, काटेर राखिएका रडको थुप्रो लगायत बगाएको जानकारी प्राप्त भएको सञ्चालक आचार्यले बताउनुभयो ।

‘हामीले एक्स्काभेटर,लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, काटेर राखिएका रड लगायतका सामाग्री बगाएको भन्ने जानकारी पाएका छौँ । उद्योगको माथिल्लो भागमा रहेको आरओइमा समेत क्षति पुगेको खबर छ । अनुमानित १५ करोड बराबरको क्षति भएको छ । हामी त्यसतर्फ जादैछौ’, सञ्चालक आचार्यले भन्नुभयो ।

हाइड्रोपावरमा बाढीका कारण क्षति पुगेको भन्ने सूचनाका आधारमा कास्की प्रहरीको टोली घटनास्थल तर्फ लागेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले बताउनुभयो ।

‘हामीले बाढीका कारण एक्स्काभेटर, लोडर लगायतका सामाग्रीमा क्षति पुगेको भन्ने सूचना प्राप्त गरेका छौ, हाम्रो टोली त्यसतर्फ लागिसकेको छ । अहिले सम्पर्क हुन् सकेको छैन । केही बेरमै क्षतिको वास्तविक विवरण प्राप्त हुनेछ’, डिएसपी हमालले भन्नुभयो ।

बाढीका कारण मानवीय क्षति हुन नपाएको र आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको डिएसपी हमालले बताउनुभयो ।

कुल ८०० करोडको लगानीमा २०७८ को असार मसान्तभित्र निर्माण कार्य सक्ने लक्ष्य राखिएको हाइड्रोको ७८ प्रतिशत निर्माण कार्य सकिएको आयोजनाले जनाएको थियो ।