जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा एसईई उत्तर पुस्तिका परीक्षण स्थगित

जन्मभुमि खबर ,
पोखरा ।

१० वर्षदेखि उत्तर पुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै माध्यमिक शिक्षा एसइईका उत्तर पुस्तिका परीक्षण कास्कीमा स्थगित भएको छ । पारिश्रमिक समयानुकूल वृद्धि गर्नुपर्ने मागसहितको ध्यानाकर्षण पत्र पेस गरेर परीक्षण स्थगित गरेको शिक्षक अमृत घिमिरेले जानकारी दिए ।

शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख अम्बिका आचार्य र शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यलाई उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण आम कस्केली शिक्षक समूहका संयोजक छविराज पौडेलले शिक्षकका मागसहितको ज्ञापनपत्र हस्तान्तरण गरे ।

ज्ञापनपत्र बुझ्र्दै निर्देशनालय प्रमुख अम्बिका आचार्यले शिक्षकहरुका माग जायज भएकाले केन्द्रसँग समन्वय गर्ने आश्वासन दिए । उनले परीक्षण नरोकिदिन आग्रह गर्दै आन्दोलनका कार्यक्रमलाई पनि सँगसँगै बढाएर समयमै कापी परीक्षणलाई पनि जारी राखिदिन अनुरोध गरेका थिए ।

समन्वय एकाइ प्रमुख लोकनाथ आचार्यले पनि ज्ञापनपत्र बुझ्दै माग सम्बोधन गर्न केन्द्रलाई अनुरोध गर्नेमा जोड दिए । उनले कापी परीक्षणलाई निरन्तरता दिएर मागहरुलाई पनि उठाइरहनुपर्ने धारणा राखे ।

शिक्षकहरुले भने १० वर्षदेखि एउटै पारिश्रमिक दरमा कापी परीक्षण गराउनु आफूहरुका लागि अन्यायपूर्ण भएको भन्दै माग सम्बोधन नहुँदासम्म कापी परीक्षण र सम्परीक्षण स्थगित गर्नुपरेको संघर्षरत शिक्षक समूहका सूचना तथा सञ्चार संयोजक अमृत घिमिरेले जानकारी दिए ।