जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा असार ७ गते राती १२ बजेसम्म लम्बियो लकडाउन

जन्मभुमि खबर,
पोखरा ।

कास्कीमा असार १ गतेदेखि लकडाउन खुल्ने जनअपेक्षा थियो । लकडाउनले कामबाट बञ्चित भएकाहरु असार १ गतेदेखि लकडाउन खुले काममा जान पाइने आशमा थिए । तर कास्कीमा लकडाउन लम्व्याइएको छ ।

आगामी असार ७ गतेसम्म लकडाउन हुने भएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । कास्कीमा वैशाख २१ गतेदेखि लकडाउन शुरु गरिएको हो । जारी लकडाउन आज ४२औं दिनमा पुगिसकेको छ । यो लकडाउनले विशेषगरि मजदूर वर्ग मर्कामा परेका छन् ।

लकडाउन अवधिभर अति आवश्यक बाहेकका सेवामा पूर्णरुपमा प्रतिबन्ध कायमै रहने भएका छन् ।

सो अवधिमा हाल जस्तै अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन पाइने छैन । एम्बुलेन्स, बिरामी तथा कुरुवा बोक्ने सवारीसाधन बढीमा दुई जना, दमकल, शववाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका गाडी, चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्यूटीमा जानेआउने क्रममा प्रयोग गर्ने गाडी, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेको गाडी, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी गाडी बाहेकका निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न पाइने छैन ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न  पाइने  छैन ।

मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गरि अन्य कार्य नगर्ने, नगराउने भनिएको छ । शिक्षक संस्था बन्द कायमै छन् ।

सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर, शैलुन, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल लगायतका सेवा एवं स्थल नखोल्ने तथा सञ्चालन नगर्ने आदेशमा उल्लेख छ ।

विवाह, ब्रतवन्ध एवं अन्य संस्कारजन्य कार्यक्रम पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न पाइने छैन भने घरमा सञ्चालन हुने त्यस्ता कार्यक्रममा बढीमा १० जनासम्म सहभागी हुन नपाइनेछ । विवाहको लागि केटा वा केटी पक्षले बढीमा पाँच जनामात्र हुने गरी एक सवारीसाधन मात्र प्रयोग गर्न सक्नेछन् ।

दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दही, माछा, मासु बिक्री वितरण गर्ने पसल बिहान ५ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा गर्योउन एवं बिक्री वितरणमा बाधा छैन ।

खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने, सोको लागि सवारीसाधन लैजान नपाइने आदेशमा उल्लेख छ ।

उद्योग र सार्वजनिक निर्माण कार्यमा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरुपमा अपनाई सञ्चालन गर्ने । आयोजनालाई मात्र निर्माण सामग्री बोक्ने गाडी बेलुका ७ देखि बिहान ४ बजेसम्म चल्न सक्ने छन् ।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधि तथा औषधिजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालय बन्द हुने छन् । कर्मचारीले बिहान ९ देखि १० र बेलुका ५ देखि ६ बजेसम्म परिचयपत्र र पोशाकका आधारमा कार्यालयसम्म आउजाउ गर्न सक्ने छन् ।

सञ्चारकर्मीले परिचयपत्र आधारमा हिंडडुलमा समस्या छैन । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने दैनिक सेवा नेपाल राष्ट्र बैंक, प्रादेशिक कार्यालय पोखराको समन्वयमा शाखा प्रबन्धकले एक चौथाइ कर्मचारीको उपस्थितिमा सञ्चालित वित्तीय संस्थाहरुमा ५० हजार भन्दा माथि जम्मा गर्ने पाईनेछ ।

तिनका कर्मचारी परिचयपत्र र कार्यालय पोशाक आधारमा बिहान १० देखि ११ र दिउँसो २ देखि साढे ३ बजेसम्म कार्यालयसम्म आवत-जावत गर्न सक्ने छन् ।

कास्कीमा कोरोना संक्रमणदर र मृत्युदर घट्दोक्रममा छ । कास्कीमा ८५० को आसपासमा सक्रिय संक्रमित छन् । कास्कीमा कोरोना संक्रमणबाट हालसम्म ३६० भन्दा बढीको मृत्यु भइसकेको छ ।