जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ ।

समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उहाँले जानकारी दिनुभयो । मेलाको सबै तयारी पूरा भएको छ ।

मेलालाई व्यवस्थित बनाउन खड्काको संयोजकत्वमा मूल समिति गठन भएको छ भने अन्य उपसमिति पनि गठन गरिएको छ । रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालीका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेछ ।

त्यस्तै, पारस खड्काको संयोजकत्वमा छेलो प्रतियोगिता, धु्रव खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, विद्या खड्काको संयोजकत्वमा अथिति सत्कार, राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचारप्रसार, राम शर्माको संयोजकत्वमा अनुगमन र तारा शर्माको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

कालीका कप पुरुष भलिबल खेलमा प्रथम हुने टिमलाई रु तीन लाख, दोस्रो हुनेलाई रु एक लाख ५० हजार, तेस्रो हुनेलाई रु ७० हजार र सान्त्वना रु २० हजार नगद पुरस्कार दिइनेछ । राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख, दोस्रो हुनेलाई रु एक लाख र तेस्रो हुनेलाई रु ५० हजार नगद पुरस्कार दिनेछ ।