जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल

कमेडी च्याम्पियन सिजन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । आज राति भएको ग्रान्ड फिनालेमा उनले बाजी मारेका हुन् ।

फाइनलमा पुगेका भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका कमेडियन सन्तोष थापालाई पनि पार्दै ताप्लेजुङका भरतमणिले कमेडी च्याम्पियन सिजन–२ को उपाधि उचालेका हुन् । उपाधिको टाइटलसँगै उनले कार  र २५ लाख उपहार पाएका छन् ।

फष्ट रनरअप बिक्की अग्रवाल बने भने सेकेन्ड रनरअप सन्तोष थापा बनेका छन् । फष्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः मोटरसाइकल र स्कुटर पाएका छन् ।

भरतमणिलाई नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता गगन थापाको साथ थियो ।

गत सिजनमा प्रत्यक्ष साथ नदिएका नेताहरुले यो पटक भने खुलेरै आफू निकट प्रतिभालाई साथ दिएका थिए । आ–आफ्ना जिल्लाका नेताहरुले प्रतिस्पर्धीलाई साथ दिएका हुन् । गगनले भने आफू सञ्चालक समितिमा रहेको कलेजको विद्यार्थी भएकाले भरतमणिलाई सहयोग गर्ने बाहना मिलेको बताएका थिए । भरतमणि जिपी कोइराला मेमोरियल कलेजका विद्यार्थी हुन् ।

गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको साथ थियो । सिक्किमका बिक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ थियो ।

बिक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए । पछि फाइनलका लागि पनि भोटको क्याम्पेनिङमा उनले सहयोग गरेका थिए ।

भरतमणिलाई योगेशले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका थिए । उक्त पुरस्कार कमेडी च्याम्पियनको सेटबाट बाहिर आएपछि हस्तान्तरण गर्ने बताइएको छ ।

कमेडी च्याम्पियनको पहिलो सिजनको विजेता हिमेश पन्त बनेका थिए । शोको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई थिए । शो निर्देशन विशाल भण्डारीले गरेका थिए ।