जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कतार विश्व कपकाे भव्य उद्घाटन

कतारमा २२ औँ फिफा विश्व कप फुटबलकाे भव्य उद्घाटन भएकाे छ । उद्घाटन समाराेहकाे आयाेजना अल बायत रङ्गशालामा भएकाे छ ।

कतारका शेख तमीम बिन हमद अल थानीले विश्व कप सुरु भएकाे आधिकारिक घाेषणा गर्नुभएकाे छ । उहाँले सबैकाे स्वागत गर्दै शुभकामना पनि दिनुभयाे । यसअघि विश्व कपकाे ट्रफीलाई अल बायत रङ्गशालामा ल्याइएकाे थियाे ।

उद्घाटन कार्यक्रममा दक्षिण काेरियाकाे चर्चित ब्यान्ड बीटीएसकाे प्रस्तुतिमा स्टेडियममा उपस्थित समर्थकले नाचगान गरेका छन् । यस्तै नाै सयभन्दा धेरै कलाकारले प्रस्तुति दिए । हलिउडका चर्चित अभिनेता माेर्गन फ्रीम्यान पनि उद्घाटन समाराेहमा देखिएका थिए ।

याे प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा चार वटाका दरले आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई वटा देश अन्तिम १६ मा पुग्नेछन् । उद्घाटन खेल नेपाली समयअनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ ।

विश्वकपका खेलहरू कतारका आठ वटा रङ्गशालामा हुनेछन् । फाइनल खेल पुस ३ गते हुनेछ । विश्व कप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो । कतारले १२ वर्षअघि विश्व कप आयोजनाको जिम्मेवारी पाएको थियो । फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएको थियो ।

सन् १९३० देखि सुरु भएको विश्व कपमा अहिलेसम्म आठ वटा देशले मात्रै उपाधि जितेका छन् । जसमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जितेको छ । यस्तै इटाली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ग्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् ।