जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै

पुस शुक्ल पूर्णिमाका दिनदेखि सुरू गरिएको स्वस्थानी व्रतको माघ शुक्ल पूर्णिमाका दिन आज समापन गरिँदैछ ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरू गरी नित्य मध्यान्हकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आइतबार व्रत समापन गर्न लागेका हुन् ।

पुस शुक्ल पूर्णिमादेखि सुरू गरिने स्वस्थानी बाचन पनि पनि आजै सकिन्छ ।

व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा पनि नभए मीत छोरा र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी ब्रतालु स्वयंले खाने प्रचलन छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहानुसार निराहार बसेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

व्रतालुहरुले आज नजिकका तीर्थहरुमा गई नुहाई धुवाई गरी विधिपूर्वक पूजा गरी दान दक्षिणा गर्ने चलन छ । साँझ पूर्णिमा व्रतको पूजासँगै महिना दिन लामो स्वस्थानी ब्रत पूरा हुन्छ ।