जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा प्रवेश

आहा रारा पोखरा गोल्डकपको दोस्रो प्रिक्वाटरफाइनलमा नेपाल पुलिस क्लब चर्च ब्वाइज क्लबसँग स्तब्ध भएको छ । प्रतियोगितामा डेब्यु गरेको चर्च ब्वाइज एक गोलको अग्रता तोड्दै सर्वाधिक विजेता पुलिसलाई हराउन सक्यो ।

शुक्रबार पोखरा रंगशालामा भएको खेलमा चर्च ब्वाइजले पुलिसलाई २–१ गोल अन्तरले हराएको हो । जितसँगै चर्च ब्वाइजले क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग भेट पक्का गरेको छ ।

खेलको २४ औं मिनेटमा रविशंकर पाश्वानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएको थिए । निरकुमार राईको पासमा पाश्वानले गरेको प्रहार चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीले बचाउन नसक्दा चर्च सुरुमै पछाडि परेको थियो ।

तर चर्च ब्वाइजले खेलको दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको ७७ औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काएका थिए । भर्खरै टोलीमा अनुबन्ध भएका विष्टले डिबक्सबाट गरेको बलले जाली चुमेको थियो ।

खेलको ९८ औं मिनेटमा अनन्त तामाङले निर्णायक गोल गर्न सके । तेज तामाङले प्रहार गरेको कर्नर किकबाट आएको बललाई ‘ट्याप इन’ गर्दै अनन्तले चर्च ब्वाइजका लागि विजयी गोल गर्न सके ।

यसअघिको पहिलो प्रि क्वाटरफाइनल खेलमा आयोजक सहारा फुटबल क्लबलाई हराउँदै धरान फुटबल क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा शनिबार धरानले नेपाल एपीएफको सामना गर्नेछ ।