जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबलाइ

जन्मभुमि खबर ,
पोखरा ।

२२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले हात परेको छ ।

आज पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे । विदेशी टिम भुटनिज युथ स्पोर्टस क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे ।

योसँगै आहारारामा दोस्रो पटक संकटाले उपाधि सुरक्षित गरेको छ । यसअघि संकटाले ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो । २ पटक फाइनल पुगेको संकटाले दुवै पटक विदेशी टिमको सामना गर्नुपरेको छ । ०७७ मा संकटाले अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।

२२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल खेलमा पहिलो अग्रता संकटा लिएको थियो । संकटाका खेलाडी सुरजज्यू ठकुरीले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

संकटाका निशान खड्काले बायाँ कर्नर नजिकबाट दिएको लामो प्रहारलाई भुटनिजका गोल रक्षक तथा कप्तानसमेत रहेका पुजन थापा मगरले मुक्का प्रहार गर्दै बचाउने प्रयासमा थिए । तर, उनको हातबाट फुत्किएको रिबाउन्ड बललाई नै पुनः प्रहार गर्दै ठकुरीले गोलपोस्टको जाली चुमाए ।

मेसुके ओलामाउले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्र्दै संकटाको अग्रता दोब्बर बनाए । कर्नर किक पाएको संकटाका कप्तानसमेत रहेका सुनिल बलको प्रहारलाई ओलामाउले गोलमा परिणत गरेका थिए ।

तर, खुसी लामो समयसम्म टिक्न सकेन । खेलको ३७ औं मिनेटमा रेने स्यान्टिलनले भुटनिजका लागि गोल गर्दै अग्रतालाई १–० को अन्तरमा ल्याएका थिए ।

खेलको ४७ औं मिनेटमा भुटनिजका थोमस स्याकरको हेडर प्रहारलाई संकटाका गोलरक्षक टिकेन्द्र थापाले बचाउने प्रयासमा थिए । तर, उनको हातबाट फुत्किएको बललाई पुनः हेडरबाटै भुटनिजका विलिस ग्रिफिटले फिनिसिङ दिएका हुन् । उनको गोलसँगै पहिलो हाफमै खेल २–२ गोलको बराबरीमा फर्र्किएको थियो ।

खचाखच दर्शकको चर्को हुटिङमाझ खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टिमले पटकपटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न भने चुके ।

निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

३० मिनेट थपिएको अतिरिक्त समयको दोस्रो हाफमा संकटाका मेसुके ओलामाउ र हेक्टर ओर्टेगा एकआपसमा जुध्दा केहीबेर स्थिति तनावपूर्णसमेत बनेको थियो । जसमा संकटाका मेसुके ओलामाउ र स्टेफन बिनोङ र भुटनिजका रेने स्यान्टिलनलाई रेफ्री प्रज्वल क्षेत्रीले पहेंलो कार्ड दिए ।

अतिरिक्त समयको २६ औं मिनेटमा संकटामा हालै अनुबन्ध भएका कप्तान सुनिल बलले विपक्षी पोस्टमा बल छिराउँदै जित सुनिश्चित गरेका हुन् ।

प्रतियोगिता विजेता संकटाले १२ लाख रुपैयाँ र उपविजेता भुटनिजले ६ लाख रुपैयाँ प्राप्त गरेका छन् ।