जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज १५औं लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

आज १५औं लोकतन्त्र दिवस । २०६२/६३ जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी लोकतन्त्र दिवस मनाइँदै छ ।

जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ ।

१५ वर्षअघि २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।

पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डर समेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।

संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो । दोस्रो जनआन्दोलनले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ । रासस