जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखी आहा ! रारा गोल्डकप: उद्घाटन खेलमा आयोजक सहारा र धरान एफसी भिड्दै

जन्मभुमि खबर ,
पोखरा ।

आहा ! रारा गोल्डकपको २२औँ संस्करण आजदेखि सुरु हुँदै छ ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन समारोह भने दिउँसो १ बजेदेखि सुरु हुने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

आजको खेलमा जित निकाल्ने टिमले सेमिफाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । एपीएफले ‘बाई’ पाएर सिधै क्वार्टरफाइनलमा खेल्ने भएको हो ।

प्रतियोगिताको २२औँ संस्करणमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफसहित धरान फुटबल क्लब, मनाङ–मर्स्याङ्दी, मच्छिन्द्र, चर्च ब्वाइज युनाइटेड, भुटानिज युथ स्पोर्ट्स क्लब, संकटा र आयोजक सहारा क्लब पोखरा गरी १० टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उच्च गोलकर्ताले २५ हजार, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही पुस २३ गते हुनेछ ।