जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखि निषेधाज्ञामा कडाई, खाद्यान्न पसल बन्द, उल्लंघन गरे एक वर्ष कैद र ५ लाख जरिवाना

काठमाडौं  । आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा एक हप्ताका लागि थपिएको निषेधाज्ञा थप कडाइका लागू हुने भएको छ। मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

सो निर्णय अनुसार आजदेखि उपत्यकाका खाद्यान्न पसल समेत खोल्न नपाइने भएको छ । तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ।  बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि यस्तो निर्णय गर्नुपरेको प्रशासनले जनाएको छ।

यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम मर्निङ र इभिनिङ वाक मा समेत रोक लगाइएको छ ।

काठमाडौं जिल्ला प्रशासनले सोमबार नै सार्वजानिक सूचना जारी गर्दै हालै ल्याइएको कोभिड १९ संक्रमण व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार जरिवानासहित कारबाही हुने जनाइसकेको छ।

कसैले अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।