जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२ हजार ८९१ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा १२० जना संक्रमित थपिए

जन्मभुमि खबर
काठमाडौं, १२ चैत । मुलुकमा थप १ सय २० जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८९१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ सय २० जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ ।
जसमा महिलाको संख्या ९७ हजार १३३ (३५.१३ प्रतिशत) र पुरुषको संख्या १ लाख ७९ हजार ३७६ जना (६४.८८ प्रतिशत) रहेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८५ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७२ हजार २७२ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार २ सय १७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८९१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ५१ हजार ८८४ जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।