जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२५ औं पोखरा सडक महोत्सव सुरु

जन्मभुमि खबर ,
पोखरा ।

‘सडकमै खाऔँ सडकमै रमाऔँ’ नारासहित पोखराकाे फेवाताल किनारमा २५ औं  सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर रेष्टुरेन्ट एन्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आजदेखि सडक महोत्सव सुरु भएको हो ।

लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको करिब ३ किलोमिटर सडकमा सुरु महोत्सवको फेवाताल किनारस्थित कोमागाने पार्कमा आयोजित समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले उद्घाटन गरे ।

५ दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख अवलोकनकर्ता भित्र्याउने रेबानको लक्ष्य छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यसहित विगत २५ वर्षदेखि अंग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव सञ्चालन हुदै आएकाे छ ।

महाेत्सव खहरेचाेकबाट साँस्कृतिक झाँकी सहितकाे र्याली सुरु भएकाे थियाे ।पुस १६ गतेसम्म सञ्चालन हुने महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति रहने छन ।

महोत्सवमा राष्ट्रियस्तरमा चर्चित गायकहरू दीपक बज्राचार्य, र्‍यापर लाहुरे, र्‍यापर राजन केसी शिला आले, समीक्षा अधिकारी, बद्री पँगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एण्ड रिभाइबल, मोक्ष ब्यान्ड आदि चर्चित गायक गायिका एवम् ब्याण्डहरुले आफ्नो प्रस्तुति दिनेछन्।