जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा तनहुँका लोहनी नियुक्त

जन्मभुमि खबर,
पोखरा ।

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ । तनहुँको साविक चोकचिसापानी गाविस स्थायी घर भएका लोहनीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।

बैठकले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदमा महोत्तरी स्थायी घर भएका सुबोधकुमार शर्मालाई मनोनयन गरेको छ भने सांस्कृतिक संस्थान (नाचघर)को सञ्चालक समितिको अध्यक्ष पदमा भोजपुरको हतुवागढी गाउँपालिका दुई स्थायी घर भएका चन्द्रकुमार राईलाई तोकेको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

उनका अनुसार बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरको राजीनामा स्विकृत गर्दै सदस्य पदमा काठमाडौंमा महानगरपालिका ३२ का अच्युतराज पहाडीलाई मनोनयन गरेको छ ।

बैठकले न्याय परिषद्को सिफारिस अनुसार वैदेशिक रोजगार व्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश कृष्ण गिरीलाई तोक्ने, न्याय परिषद्कै सिफारिसमा राजस्व न्यायाधिकरण पोखराको कानून सदस्य एवम अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश राजनप्रसाद भट्टराई, विराटनगरको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत बिराटनगरका न्यायाधीश विपुल न्यौपाने र काठमाडौंको कानून सदस्य एवम अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाललाई तोक्ने निर्णय गरेको छ ।