जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी प्रकरण : काठमाडौंमा पक्राउ परेका उपाध्यक्षलाई पोखरा ल्याइयो

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । बिहीबार काठमाडौंमा पक्राउ परेका उनलाई शुक्रबार बिहान पोखरा ल्याइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए ।

रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ घर भई ३८ वर्षिय दर्लामी आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि फरार थिए । काठमाडौंमा लुकेर बसेको अवस्थामा उनलाई काठमाडौं प्रहरीले कास्की प्रहरीको अनुरोधमा पक्राउ गरेको थियो ।

यो सहकारीको रकम हिनामिना प्रकरणमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तर, हालसम्म कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका थिए । रम्तेल अहिले पूर्पक्षका लागि थुनामा छन् ।

पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् ।