जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सहकारीको रजिष्ट्रार हुँदा घुस लिएको आरोप , कुश्माका प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी

जन्मभुमि खबर,
पोखरा ।

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीविरुद्ध केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको हो ।

पराजुली कुश्मा आउनुअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत थिए । सोही समयमा उनले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएको खुलेको प्रहरीको भनाइ छ ।

सहकारीका सञ्चालकहरूको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा घुस लिएको बयान दिएका थिए ।