जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली , शनिबार धुर्मुस,सुन्तलीले हसाउने

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसको जगेर्ना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो ।

जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहालले बताए । रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने दाहाल बताउँछन् ।

मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्वअध्यक्ष शिवहरि ढुंगानाले भने । रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने ढुंगानाले बताए । उनका अनुसार त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने छ । यो गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन् । पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ ।

रत्यौली गीत आफै रोचक हुन्छ भने नर्तकहरूको नृत्य र अभिनयले रत्यौली गायनस्थललाई निकै रमाइलो बनाउने गर्दछन । महोत्सवको स्टेजमा नौमती बाजासहितको प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिङ्गो लोक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्त्व बुझाउन सहयोग पुग्ने रत्यौली प्रतियोगिताकी संयोजक गंगा मल्लले बताइन । पुसको महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले भने विवाहको जस्तै पञ्चेवाजाको साथमा बेहुला र बेहुली नै बनाएर विवाह कै जस्तो भल्को दिने गरि रत्यौली गीतलाई स्थान दिएको थियो ।

महोत्सवको थप आर्कणको रुपमा रहेको रत्यौली गीत प्रतियोगिता अन्तरगत २० बटा समूह पहिलो चरणबाट छनोट भएका थिए भने शुक्रबार २० टिम मध्येबाट उत्कृष्ट घोषणा गरिएको छ । प्रतियोगितामा तोरीचौर महिला समूह पोखरा–३३ पहिलो भएको छ भने, आवासनगर आमा समूह पोखरा–२१ द्वित्तीय, आदर्श दिदी बहिनी महिला समूह पोखरा–३० तृतीय, गायत्री आमा समूह, पोखरा–३२ र नारी विकास आमा समूह पोखरा–३० सान्त्वना हुन सफल भएका छन् । यस्तै नमुना आमा समूह पोखरा–३१ रामटोल उत्कृष्ट नृत्य र ककरेह महिला समूह, पोखरा–३१ ले उत्कृष्ट लुठोको उपाधि प्राप्त गरेको छ ।

शुक्रबार नै झाँकी र्यालीतर्फको नतिजा पनि घोषणा गरिएको छ । उत्कृष्ट हुने झाँकीहरुमा लेखनाथ नेवाः खल प्रथम, नेपाल मगर संघ बुढीबजार इकाई द्वित्तीय, मगर समाज पोखरा–२९ सैनिक तृतीय, नेपाल कुमाल समाज सुधार समिति चौंथो र मगर पुन संघ पाँचौ भए । पुस ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको नवौं दिनसम्म २ लाख ५० हजार दर्शकहरुले अवलोकन गरेका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म ६ करोडभन्दा माथिको कारोबार भएको छ ।
महोत्सवमा शनिबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, कला लम्साल, घनश्याम रिजाल, रिया खड्का, कृष्ण सुवेदी, रिया खड्का, रति खड्का, टेकराज भण्डारी र सरिता सारु मगर लगायतले प्रस्तुति राख्नेछन् । हाँस्यव्यग्यतर्फ सिताराम कटृेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को प्रस्तुति रहनेछ । यस्तै बेलुका लाइभ कन्सर्टमा इलिमेन्ट ब्यान्ड र सञ्जना श्रेष्ठले स्टेज प्रस्तुति दिने कार्यक्रम छ ।