रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना : १८ जना घाइते, दुई गम्भीर
रामेछाप : रामेछापको मन्थली नगरपालिकास्थित मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना भएको छ। शुक्रबार बिहान सालुबाट मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्बरको बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए।
‘सदरमुकाम मन्थलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सेतिदेवी मावि सालुका विद्यार्थी र स्काउटको टोली चढेको बस दुर्घटना भएको हो।’ श्रेष्ठले भने, ‘बसमा सवार ५३ जनामध्ये १८ जना घाइते भएका छन् जसमध्ये दुई जना गम्भीर घाइते देखिएका थिए तर परीक्षणको क्रममा एकजनाको रिपोर्ट नर्मल आइसकेको छ।’
उनका अनुसार घाइतेको उद्दारपछि तामाकोशी अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा ट्याक्टरलाई साइट दिने क्रममा तीव्र गतिका कारण अचानक बस सडकमै पल्टिएको देखिएको श्रेष्ठले बताए। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
बसमा मन्थली नगरपालिकास्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सेतिदेवी मावि सालुका विद्यार्थी पनि रहेको पुष्टि गर्दै मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। रासस