जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार राजीनामा दिने तयारीमा छन् । कांग्रेस संसदीय दलको बैठकमा छलफल गरेर दिउँसो राजीनामा दिने तयारी रहेको उनीनिकट सांसदहरूले बताएका छन् ।

दलका प्रमुख सचेतक नन्दु न्यौपाने काठमाडौं भएकाले उनी आएपछि बैठक राख्ने तयारी दलको छ । फागुन २३ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्व सरकार अल्पमतमा परेको थियो । सरकार अल्पमतमा परेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । पाण्डेले संविधानअनुसार २२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्छ र प्रदेशसभा नियमावलीअनुसार मंगलबार दिउँसोसम्म विश्वासको मत लिने भए संसद् सचिवालयमा सूचना पठाइसक्नुपर्छ ।

विश्वासको मत नपाउने निश्चितप्राय: भएपछि उनले राजीनामा दिन लागेका हुन् । संसद्‍मा ठूलो दलको हैसियतले उनी पुन: मुख्यमन्त्री हुने योजनामा छन् । सरकार गठनका लागि निर्णायक रहेको राप्रपाको कुनै निर्णय नआउँदासम्म गण्डकीमा सरकार बनाउन अन्योल छ । नयाँ सत्ता समीकरण अनुसार एमाले-माओवादी मिल्दा सरकार बनाउने स्थिति छैन भने उनीहरूलाई पनि राप्रपाको साथ चाहिन्छ ।

मुख्यमन्त्री पाण्डेले चैत ५ मा नै स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनाइसकेका छन् । राप्रपा र स्वतन्त्र सांसदले साथ दिए पनि कांग्रेस नेतृत्वमा सरकार बन्न नसक्ने भएपछि पाण्डेले माओवादीको चुनाव चिह्न लिएर गोरखाबाट निर्वाचित भएका नेसपाका फणीन्द्र देवकोटालाई फकाएका छन् । फणीन्द्रले साथ दिए मात्र कांग्रेसलाई सरकार बनाउन सहज हुनेछ । गण्डकीमा सबैभन्दा ठूलो दल कांग्रेसको २७ सिट रहेको छ । एमालेको २२ सिट रहेको छ भने सभामुखसहित माओवादीको ८ सिट रहेको छ । त्यस्तै राप्रपाका २ सांसद रहेका छन् । मनाङे भने एकीकृत समाजवादीबाट अलग हुँदै स्वतन्त्र सांसदका रूपमा रहेका छन् ।