जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

म्याग्दीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना घाइते

म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको जानकारी दिनुभयो । छ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन् ।

अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ ।

जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो ।