जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मेलम्चीको होटलको छतमा फसेका २ जनाको हेलिकप्टरमार्फत् उद्धार

सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनाको उद्धार भएको छ । बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।

उनीहरू मंगलबार आएको बाढीपछि होटलमा फसेका थिए। बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा गएका थिए । बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो।

सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर परिचालन गरिएको छ । खोज तथा उद्धारमा सेनाको विशेष तालिमप्राप्त टोली खटाइएको छ। सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर उद्धारलागि प्रयोग गरिएको छ । अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको छ ।