जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मित्र मिलन सहकारी ठगी-काण्ड : पुर्वरजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधबार दिउँसो उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

“हामीले कार्यालयबाटै उहाँलाई नियन्त्रणमा लिएका हौँ, अहिले जिल्ला अस्पताल पर्वतमा मेडिकलका लागि ल्याएका छौँ ।” पर्वतका डीएसपी खुमलाल भुसालले भने ।

पराजुली कास्कीमा हुँदा सहकारी प्रकरणमा मुछिएका थिए । मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा घुस लिएको आरोप छ ।

कास्की प्रहरीकै अनुरोधमा पर्वत प्रहरीले उनलाई पक्राउ गरेर कास्की पठाउन लागेको हो । पक्राउ पूर्जी जारी भएयता उनी केही समय फरार थिए ।

स्रोतका अनुसार आफूविरुद्ध पक्राउ पूर्जी जारी हुने संकेत पाउनासाथ प्रमुख प्रशासकीय अधिकृत पराजुली बिदामा बसेका थिए । जिल्ला अदालत कास्कीले पक्राउ गर्न अनुमति दिएपछि कास्की प्रहरीले पर्वत प्रहरीलाई पत्र लेख्दै पराजुलीलाई उपस्थित गराउन समन्वय गर्न भनेको थियो । बिदा लिएर काठमाडौं गएका पराजुली त्यहाँ नरहेको भन्दै पर्वत प्रहरीले जवाफ पठाएको थियो ।

पर्वतका डीएसपी खुमलाल भुषालका अनुसार पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए । १ करोड ५ लाख लिएको बयान सहकारीका अध्यक्ष रमण पौडेलले दिएका थिए ।

त्यसकै आधारमा पराजुलीलाई पक्राउ गरिएको पर्वतका डीएसपी खुमलाल भुषालले जानकारी दिए । उनी बुधवार कार्यालय गएका थिए । उनलाई आजै कास्की पठाउने बताइएको छ । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।