जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माओवादीका पुर्वकमाण्डर कालीबहादुर खाम पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा माओवादीका पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन् ।

माओवादीका पूर्वलडाकु खामलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । २०६५ मा व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रण लिएर हत्या गरेको अभियोग खाममाथि छ । १५ वैशाख २०६५ मा श्रेष्ठलाई कोटेश्वरबाट नियन्त्रणमा लिई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो ।

खामकै अगुवाइमा श्रेष्ठलाई नियन्त्रणमा लिएको बताइएको छ । त्यतिबेला श्रेष्ठको घरमा माओवादी लडाकुको तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएको र उक्त कार्यालयबाट १४ चैत २०६४ मा १७ लाख नगदसहित हतियार चोरिएको घटना सार्वजनिक भएको थियो । उक्त चोरी प्रकरणमा श्रेष्ठको संलग्नता रहेको भन्दै खामको टोलीले नियन्त्रणमा लिन लडाकुलाई कोटेश्वर पठाएको थियो ।

त्यतिबेला श्रेष्ठसहित केशव अधिकारी र गंगाराम थापालाई नियन्त्रणमा लिएका थिए । उनीहरूलाई नियन्त्रणमा लिई शक्तिखोर पुर्‍याइएको थियो । २८ वैशाख २०६५ बिहान नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो । उक्त घटनापछि श्रीमती रमिला श्रेष्ठले आफ्ना पतिको अपहरण गरी हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

गोविन्दबहादुर बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइयो । उक्त मुद्दाको १७ जेठ २०६८ मा फैसला भएको थियो ।

जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले उक्त फैसलामा बटालालाई तीन वर्ष कैद र खाम, अधिकारी र थापा फरार रहेको मुद्दा अदालतले मुल्तबीमा राखेको थियो । मुद्दा चलेदेखि नै अदालतमा उपस्थित नभएका खाम राज्यका नजरमा फरार अभियुक्त हुन् ।

१५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका खाम लामो समयदेखि माओवादी केन्द्रकै संरक्षणमा रहँदै आएका थिए । फरार रहेका खामलाई माओवादी केन्द्रले केन्द्रीय विभागको सदस्य बनाएको थियो । माओवादी सशस्त्र विद्रोहमा खामको नाम एउटा सफल र साहसी सैन्य कमान्डरका रूपमा परिचित थियो ।

तर, शान्ति प्रक्रियामा आएपछि उनी शृंखलाबद्ध अपराधका अभियुक्त बनेका थिए । त्यही कारण उनी सक्रिय राजनीतिमा आउन सकेका छैनन् । भूमिगत शैलीमा काम गर्दै आएका खामलाई माओवादी केन्द्रले भने निरन्तर संरक्षण गर्दै आएको थियो ।