पोखरा ३३ मा भात नपकाएको निहुँमा गमबहादुरले गरे श्रीमतीलाई बन्चरोले हानेर हत्या
जन्मभुमि खबर
पोखरा ।
भात नपकाएको सामान्य विषयमा झगडा हुँदा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
पर्वत स्थायी ठेगाना भई पोखरा महानगरपालिका वडा नं ३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुरले ४२ वर्षीया हरिमाया पुनलाई बन्चरो हानी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले हत्यामा संलग्न पुनलाई शुक्रबार बिहान पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार खाना नपाएको निहुँमा झगडा गरेर पुनले श्रीमतीको हत्या गरेका हुन् । गमबहादुर लामगादी कृषि फर्ममा ज्यालादारी गर्ने प्रहरीले जनाएको छ ।
बिहीबार राती करिब ८ बजेको समयमा गमबहादुर घर पुग्दा खाना नपकाएको विषयमा वादविवाद भएको थियो । झगडा चर्किदै जाँदा उक्त घटना घटेको श्रेष्ठले बताएका छन् । घरमै रहेको बन्चरोको प्रहारले मृतकको टाउकोमा गम्भीर चोट लागेको थियो ।
हरिमायाले रक्सी पिएर बसेको र सामान्य वादविवादमा कुरा चर्किदै जाँदा उक्त घटना घट्न पुगेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गमबहादुरले रिसको झोंकमा श्रीमतीलाई बञ्चरो प्रहार गरी अर्काे कोठामा गई सुतेको बताएका छन् ।
प्रहरीले लुकाएर राखेको बञ्चरो बरामद गरेको बताउँदै गमबहादुरलाई ज्यानसम्बन्धी मुद्दाको कसुरमा १० दिन म्याद थपि अनुसन्धान सुरु गरिएको जनाएको छ ।