बेनी-जोमसोम सडकमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध , एक दर्जन बिजुलीका पोलमा क्षति
जोमसोम : उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्डमा सोमबार बिहान सुख्खा पहिरो गएको छ ।कमजोर भू-वनोट रहेको मुस्ताङको थासाङ-३ मिसीमा सडक चौडाका लागि रककटिङ गरिएको स्थानको सडक माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो खसेपछि अन्दाजी २५ मिटर सडक अवरुद्ध भएको घासा प्रहरी चौकीले बताएको छ ।
बेनी-जोमसोम सडकखण्डको दोस्रो प्याकेजमा शर्मा गजुरमुखी जेभीले त्यहाँ कटिङ गरी सडक चौडा गर्ने काम गरिरहेको छ । बर्खायामको मनसुन सुरु भएसँगै थासाङको मिसी सडकमा सुख्खा पहिरो गएको हो ।
सुख्खा पहिरोले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको करिब एक दर्जन पोलमा क्षति पुगेको स्थानीयको भनाइ छ ।सुख्खा पहिरोले विद्युत पोलमा क्षति भएसँगै मुस्ताङ जोडिने राष्ट्रिय प्रशारण लाइन अवरुद्ध भएको छ भने नेपाल टेलिकम तथा टेकमाइन्ड कम्पनीको फाइबर नेट समेत अवरुद्ध भएको छ ।
सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि बेनी-जोमसोम सिधा सडक अवरुद्ध भएको छ । सुख्खा पहिरो गएको स्थानमा शर्मा गजुरमुखी जेभीको उपकरणले सडक सफा गर्ने काम सुरु गरेको छ । सडक सफा गरी यातायात सूचारु गर्न केही दिन लाग्नसक्ने जनाइएको छ ।
कालिगण्डकी गण्डकी करिडोर अन्र्तगत बेनी-जोमसोम सडक स्तरोन्नति २०७४ सालबाट सुरु गरिएको हो ।राष्ट्रिय गौरवको सडक आयोजनाको निर्माणकार्यको भौतिक प्रगती अहिले ५० प्रतिशत बढी संम्पन्न भएको छ । तर, आयोजनाले सडकको बृहत वातावरण प्रभाव मूल्याङ्कन ( ईआईए) नगरि सडक निर्माण सुरु गरेकाले बर्सेनि उक्त स्थानमा बाढी/पहिरो र नदी कटानको जोखिम बढेको सरोकारवालाको भनाई छ ।गत वर्ष पनि सुख्खा पहिरोका कारण सडक माथिबाट दर्जनौं रुख-बिरुवामा क्षति पुगेको थियो ।
करिडोरले सडक स्तरोन्नति गर्नु अघि साविक गाविसको अनुमतीपत्र र सामान्य स्तरको आईई प्रक्रिया मात्र पूरा गरेको थियो ।